Bagmati Samachar Logo

०७४ मा मेयरमा पराजित भगवती ८ महिना बन्ने छिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ। उनी एमालेकी राष्ट्रिय सभा सदस्य हुन्।

यसअघिका मन्त्री राजकुमार गुप्‍ता घुस डिल प्रकरणमा मुछिएपछि मंगलबार बिहान मात्र राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए।

ओलीको नेतृत्वमा २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्‍ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट प्रधानमन्त्रीसमक्ष राजीनामा दिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शीतलनिवासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

मेयरमा पराजित भएको दुई वर्षमा राष्ट्रिय सभा सदस्य
२०७४ सालको स्थानीय तहको निर्वाचनमा न्यौपाने तनहुँको भानु नगरपालिका मेयरमा पराजित भएकी थिइन्। २० वैशाख २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । उनी कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्।

मेयरमा पराजित भएकी न्यौपानेलाई २०७६ माघ ९ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशबाट तत्कालीन नेकपाले गण्डकी प्रदेशबाटै उम्मेदवार बनायो र निर्वाचित गरायो। न्यौपानेको आगामी फागुनमा कार्यकाल सकिदै छ । उनी ६ वर्षको लागि २०७६ साल माघ ९ गते निर्वाचित भएकी थिइन् । उनको कार्यकाल यहि फागुन सकिदै छ ।