भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु : ज्ञानेन्द्र शाही
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलेले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु पर्ने बताएका छन् । उनले संसदमा भने, ‘पहिला–पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु ।’
वर्तमान सरकारले भ्रष्टाचारीको सरकार हो भनेर गिनिज बुकमा नाम लेखाउनुपर्ने पनि बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् भ्रष्टाचार गर्ने ठाउँ मात्रै भएको बताएका हुन् ।
‘पहिला–पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु । खुलमखुला मन्त्री क्वार्टरमा गएर पैसा दिइएको छ । मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौँ, यो देशमा । अख्तियारले के गरेर बसेको छ ?,’ उनले भने ।
घुस प्रकरणको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । सांसद शाहीले राजीनामा दिएर मात्र नहुने र मन्त्री गुप्तालाई पक्राउ गर्नुपर्ने बताए । ‘राजीनामा दिँदैमा समाधान हुँदैन । तत्काल पक्राउ गरेर छानबिन गरियोस् । उनीहरूमाथि छानबिन गरियोस् ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्: