Bagmati Samachar Logo

माओवादीले ‘कुलिङ पिरियड’मा बाहेक शब्द घुसाएको भन्दै छानबिन गरी कारबाहीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारे गरिएको हेराफेरी गम्भिर अपराध भन्दै छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेका छन् ।

सभामुखसमक्ष आफूले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएर सच्याउन ध्यानाकर्षण गराएको उनले बताए ।

उनले भने, ‘कुलिङ पिरियडको विवाद नियतवश समितिले पास गरेको विषयभन्दा बाहिर गएको भन्दै समिति सदस्यहरूको भनाइ छ । सभापतिले पनि आफ्नो जानकारीबिना भयो भन्नुभयो । संसदको उपहास र सार्वभौममाथि हस्तक्षेप गर्ने गरी षड्यन्त्र र नीच काम गरियो, यो सरासरी बदमासी हो । पहिले छानबिन हुनुपर्छ । यसको जिम्मेवारी सचिव सभापति वा समिति कसले लिने
? लिनुपर्छ ।’

उनले कानून निर्माणमा यस्ता छलछाम गरी हेराफेरि हुने अवस्था ले जनताले व्यवस्थापिका र कानूनमाथि कसरी विश्वास गर्ने भन्ने गम्भिर प्रश्न उठेको बताए ।

‘हामीप्रति प्रश्न उठेको छ । छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएरमा सच्याउने कुरा अघि बढ्नुपर्छ । यो गम्भिर प्रकृतिको अपराध हो । सभामुखले छानबिनका लागि कस्तो प्रक्रिया अपनाउनुहुन्छ । उहाँको कार्यक्षेत्रभित्र पर्ने कुरा हो’, शर्माले भने ।

शर्माले आज बिहानै सामाजिक सञ्जालमा लेखेका छन, ‘संसदीय इतिहासमा कानुन निर्माणको सर्बोच्च निकायमै कानुनको दफामा हेराफेरी जनप्रतिनिधिहरुको अपहरण जनताप्रति बेइमानी, भ्रष्ट र तुच्छ कार्य संसदकै उपहास गर्ने जो कोही भए पनि तत्काल निलम्बन गरी कार्वाही अगाडि बढाउनुपर्छ।’
सभामुखले विधेयकमा भएको हेराफेरीबारे समितिका सभापति, सदस्यलगायतसँग छलफल गरेका छन् ।