Bagmati Samachar Logo

ओलीले ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्नूस्, नत्र माफी माग्नोसः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पाँच बुँदे सहमति भएको भनेर बोलेको कुरा प्रमाणित गर्न चुनौति दिएको छ । प्रचण्डले ओलीले झुट बोलेको भन्दै यदि पाँच बुँदे भएको प्रमाणित गर्ननसके जनतासंग माफि माग्न भनेका छन् । प्रचण्डले विज्ञप्तीमा भनेका छन् ‘ पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’
ओलीले बुधबार पार्टीका मनोनीत केन्द्रीय सस्यहरुको शपथग्रहण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच ५ बुँदे सहमति भएको दाबी गरेका थिए ।

ओलीको उक्त भनाइको खण्डन गर्दै प्रचण्डले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् । प्रचण्डले भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।’

विज्ञप्तीमा अगाडि भनेका छन् ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’

त्यस्तै कुनै सेयरकारोबारीले चन्दा नदिएपछि बजार ध्वस्त पारिदिएको भन्ने ओलीको आरोपको खण्डन गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘मार्क्स्वाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको प्रचण्डको विज्ञप्तीमा उल्लेख छ । उनले भनेका छन् ‘दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

एमाले अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा प्रचण्डसँगको सहमतिमै तत्कालीन राजा ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाएको बताएका थिए । ओलीले उक्त सहमतिबारे दाहाल र पूर्वराजा ज्ञानेन्द्रले बोल्नुपर्ने बताएका थिए ।