पार्टीप्रतिको जनविश्वास पुनः स्थापित गर्न भन्दै ‘नेक्स्टजेन एमाले’ले जारी गर्याे अवधारणा
काठमाडौँ । नेकपा (एमाले) को विशेष महाधिवेशन पक्षधरले पार्टी पुनर्गठन र रूपान्तरणका लागि भन्दै ‘नेक्स्टजेन एमाले’ को अवधारणा प्रस्तुत गरेको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानसँगै ‘नेक्स्टजेन एमाले’ को अवधारणा (छलफल पत्र) सार्वजनिक गरिएको अभियानकर्ताहरूले जनाएका छन् । छलफल पत्रमाथि डिजिटल र भौतिक रूपमा बहस गरेर निचोडमा पुगिने उनीहरूको भनाइ छ ।
७७औँ कम्युनिस्ट स्थापना दिवसका दिन सार्वजनिक गरिएको छलफल पत्रमा एमालेप्रति घट्दो जनविश्वास पुनः स्थापित गर्न संरचनागत तथा व्यवहारगत सुधार अपरिहार्य रहेको उल्लेख छ ।
सार्वजनिक छलफल पत्रमा वर्तमान राजनीतिक अवस्थालाई ‘सङ्कटको घडी’ का रूपमा व्याख्या गरिएको छ ।
यतिवेला एमालेका अगाडि वैचारिक र सैद्धान्तिक भन्दा पनि नीतिगत, कार्यशैलीगत र साङ्गठनिक चुनौतीहरू देखिएको भन्दै यसले पार्टीको मौलिक चरित्रअनुसारको क्रान्तिकारी रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको माग गरिरहेको छलफल पत्रमा व्याख्या गरिएको छ ।
बदलिँदो समाजको आवश्यकता, आकाङ्क्षा र अपेक्षा अनुरूप वास्तवमै जबजका अनुयायीका रूपमा गतिशील भएर मुलुक र आन्दोलनको नेतृत्व गर्छौ वा लाछी भएर पार्टी र आन्दोलनले खोजेको क्रान्तिकारी रूपान्तरणको बाधक बन्छौँ भन्ने अहम् प्रश्न एमालेसामु उब्जिएकाले बहस र छलफलको आवश्यकता भएको बताइएको छ ।
‘नेक्सजेन एमाले जनतातर्फ, जरातर्फ’ भन्ने मूल नारासहितको प्रस्तावमा पार्टीलाई वैचारिक स्पष्टता, सङ्गठनात्मक चुस्तता र कार्यशैलीगत उत्तरदायित्वतर्फ रूपान्तरण गर्नुपर्नेमा विशेष जोड छ ।
उक्त अवधारणमा हुने छलफलमा पार्टीका नेता कार्यकर्तामा मात्र नभएर आम जनतासमेत जोडिन सक्ने एमाले युवासंघका पूर्व नेता मोदनाथ सिलवालले जानकारी दिए ।
‘छलफलमा पार्टी नेता तथा कार्यकर्तामात्र नभएर आम जनतापनि जोडिन सक्नुहुनेछ’, सिलवालले भने, ‘छलफल पत्रमार्फत पार्टी पुनर्जागरणका लागि हामीले मुख्य तीन आधार अघि सारेको छौ ।’
रूपान्तरणसहितको पुस्तान्तरण, जनतातर्फ फर्किने नीति र जरास्तर ९ग्रासरुट० सँग पुनःजोडिने अभियानलाई प्राथमिकतामा राखिएको सिलवालको भनाइ छ ।
छलफल पत्रमा पार्टीभित्र खुला बहस र समीक्षा संस्कृतिलाई संस्थागत गर्नुपर्ने, निर्णय प्रक्रियामा पारदर्शिता बढाउनुपर्ने तथा नागरिक समाज र कार्यकर्ताबाट नियमित सुझाव संकलन गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख छ । आधुनिक राजनीतिक अभ्यासअनुसार ‘ओपन कन्सल्टेसन’ र ‘पार्टी–समाज संवाद’ लाई सुदृढ बनाउँदै पार्टीलाई बन्द संरचनाबाट खुला र उत्तरदायी संरचनातर्फ लैजानुपर्ने प्रस्ताव गरिएको छ ।
नीतिगत सुधारतर्फ कागजातले नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, निर्वाचन पराजयपछि अनिवार्य जबाफदेहिता, प्रत्यक्ष मतदानबाट नेतृत्व चयन, उम्मेदवार छनोटमा प्राथमिक प्रणाली ९प्राइमरी०, तथा अनुसन्धानमा आधारित नीति निर्माणलाई प्राथमिकतामा राखेको छ । साथै, जनसङ्गठनहरूमा वैचारिक स्पष्टता र साङ्गठनिक स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने सुझाव पनि समेटिएको छ ।
नीतिगत सुधारका प्रस्तावित १५ बुँदा
१.अधिकतम दुई कार्यकालको व्यवस्था
२.जनसङ्गठनमा वैचारिक सामीप्यता, सांगठानिक स्वायत्तता
३.निर्वाचन पराजयको अनिवार्य जबाफदेहिता
४.अनुशासनमा आधारित नीति र कार्ययोजना
५.कार्यकर्ताको प्रत्यक्ष मतदानबाट पार्टी नेतृत्व
६.ल्याटरल इन्ट्रीको व्यवस्था
७.अनिवार्य प्राइमरीको व्यवस्था
८.पिरामिड शैलीका कमिटीगत संरचनाहरू
९.वैज्ञानिक मूल्याङ्कन,विषयगत जिम्मेवारी
१०.जिम्मेवारी पूर्व अनिवार्य स्क्रिनिङ
११.नेतृत्व विकासमा वैज्ञानिक प्रणाली
१२.भ्रष्टाचारमा शून्य सहनशीलता
१३.पार्टीमा अग्रजहरूको मार्ग निर्देशन कमिटी
१४.समाजमा रोलमोडल हुनसक्ने नेता कार्यकर्ता
१५.पेशा व्यवसायप्रति प्रोत्साहन र शून्य पुर्णकालिन कार्यकर्ता
प्रस्तावित छलफल पत्रमा विगतका कमीकमजोरीप्रति जनतासँग आत्मालोचना गर्दै विश्वास पुनः आर्जन गर्नुपर्ने औँल्याइएको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै आरोप लागेका पदाधिकारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने र सार्वजनिक जीवनमा पारदर्शिता अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिइएको छ ।
युवाको प्रतिनिधित्व वृद्धि, नेतृत्व विकासका लागि संरचनागत सुधार, पेसागत संलग्नतालाई प्रोत्साहन र पूर्णकालीन कार्यकर्ता संस्कृतिमा सुधार आवश्यक रहेको पनि छलफल पत्रमा उल्लेख छ । साथै, अनुभवी नेताहरूको मार्गदर्शनका लागि अलग संयन्त्र निर्माण गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।
छलफल पत्रले एमालेभित्र ‘पुनर्जागरण’ को आवश्यकता औँल्याउँदै पार्टीलाई पुनः जनमुखी, विश्वसनीय र प्रभावकारी शक्तिका रूपमा स्थापित गर्न साहसिक नीतिगत र संरचनात्मक सुधार अनिवार्य रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
‘पार्टीको पुनर्जागरणका लागि तीन आधार र १५ वटा नीतिगत सुधारहरू प्रस्ताव गरिएको छ, जसको उद्देश्य पार्टीलाई थप लोकतान्त्रिक, उत्तरदायी, जनमुखी र प्रभावकारी बनाउनु हो’, नेकपा एमाले युवासंघका उपमहासचिव उपेन्द्र शाही भन्छन्, ‘छलफल पत्रमा हामीले पार्टीको पुनर्जागरणका लागि आवश्यक पर्ने न्यूनतम नीतिगत सुधारहरूमा मात्र केन्द्रित भएका छौँ र उक्त नीतिहरूको आवश्यकताबारे आधारभूत तर्कहरू मात्र पेस गरेका छौँ ।’
प्रस्तावित आधार र नीतिहरू जनताको बहुदलीय जनवाद ९जबज० र लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा आधारित रहेको अभियानकर्ताहरूको भनाइ छ ।
‘यो छलफलका लागि छलफल मात्र नभई, हाम्रो पार्टी र आन्दोलनको पुनर्जागरणको लागि अपरिहार्य आवश्यकता समेत हो’, शाहीको भनाइ छ ।
छलफलका लागि प्रस्तावित पत्रमा राजनीतिलाई पेसागत निर्भरता नबनाई सामाजिक सेवा बनाउनु आवश्यक हुने उल्लेख गरिएको छ ।
‘सबै सदस्यहरूलाई उत्पादनशील पेसामा संलग्न हुन प्रेरित गर्नुपर्छ र पूर्णकालीन कार्यकर्ता भएको नाममा पार्टीमा जिम्मेवारी र पद खोज्नेप्रवृित्तको अन्त्य गर्नूपर्छ’, प्रस्तावित पत्रमा भनिएको छ, ‘यसले आर्थिक पारदर्शिता र आत्मनिर्भरता बढाउँछ ।’
साथै कार्यालय सञ्चालन गर्न तलब भत्ता पाउने कर्मचारी, स्वयंसेवक र विभिन्न गतिविधिहरूमा आवश्यकता अनुरूप विज्ञहरुमात्र पूर्णकालीन रूपमा पार्टी काममा संलग्न रहने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ ।
‘नेकपा (एमाले)को पुनर्जागरण नेतृत्व परिवर्तनले मात्र सम्भव छैनस यसको लागि संस्थागत रूपान्तरण, लोकतान्त्रिक कार्यशैली, युवामैत्री साङ्गठनिक संरचना र जनतासँगको जीवन्त सम्बन्ध पुनः स्थापित गर्नपर्छ’ अभियान पार्टीलाई पुनः जीवन्त, विश्वसनीय र जनप्रिय बनाउने एक व्यापक रूपान्तरण प्रयास भएकाले अबको एमाले अतीतको गौरव मात्र होइन, भविष्यको सम्भावनामा उभिनुपर्ने पार्टी रूपान्तरण पक्षधरको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस्: