प्रधानमन्त्री वालेनको सुकुमवासी हटाउने निर्देशन ‘अपरिपक्वता’ र ‘राजनीतिक बेइमानी’ : रक्षा बम
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् ।
यो प्रधानमन्त्री वालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी उनले गरेकी छन् ।
वालेनले बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । सो समाचारको अंश फेसबुकमा राख्दै रक्षा बमले लेखेकी छन्, ‘बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।’ उनले रास्वपाको बाचा पत्र पढ्न पनि सुझाव दिएकी छन् ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विगतमा भएका प्रयासको विरोध जनाउँदै डोजर चलाउने भए आफ्नो छातीमाथि चलाउन भनेको भिडियो सामाजिक सन्जालहरुमा भाइरल छ ।
रास्वपा वरिष्ठ नेता समेत रहेका बालेनले २१ फागुनको चुनावका बेला झापाको सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने वाचापत्र सार्वजनिक गरेका थिए ।
सुधन गुरुङले बुधबार राजीनामा दिएपछि गृह मन्त्रालय आफैंले सम्हालेका वालेनले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट सुरु गर्न निर्देशन दिएका छन् ।
वालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमवासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।
अहिले उनी प्रधानमन्त्री बनेपछि फेरि सुकुमवासी बस्तीहरू हटाउने प्रयास थालेका हुन् ।
जब कि रास्वपा सभापति रवि लामिछानेले चुनावमा सुकुमवासी बस्ती हटाउने काम भएमा आफू आएर अगाडि उभिने प्रतिबद्धता जनाएका थिए । सामाजिक सञ्जालमा उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्: