अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ
काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलिया भ्रमण गरेमा पक्राउ गर्नु पर्ने बताएको छ । पुटिन अर्को हप्ता मंगोलियाको भ्रमण गर्ने समाचार एजेन्सीहरुले जनाएको छ । आईसीसीले मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ। पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन्।
पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । आईसीसीका प्रवक्ता डाक्टर फादी अल अब्दल्लाहले अदालत मंगोलिया लगायतका सदस्य राष्ट्रहरूमा ‘आफ्नो आदेशको पालना गर्न’ निर्भर रहेको बताए । उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मंगोलियाको दायित्व भएको उनको भनाई थियो ।
मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले रुस र युक्रेनबिच जारी संघर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ ।
तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो।
यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन्। युक्रेनी विदेश मन्त्रालयले भन्यो, ‘हामीहरूलाई आशा छ, मंगोलियालाई थाहा छ कि पुटिन युद्ध अपराधी हुन् भनेर।’
यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा ‘कुनै चिन्ता’ नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्: