राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१।३।३० गते आइतबार अपराह्न ५ः०० बजे भित्र पेस गर्न आह्वान भएको छ।’
अर्को सरकार गठन नभएसम्मका लागि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रपति पौडेलले तोकेका छन्।
उनले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न भनेका हुन् । यसअघि उनले कानुनविद्हरूसँग राय लिएका थिए ।
कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए ।
राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसी लगायतसँग सुझाव लिएका थिए । ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्: