गिरिबन्धु टी–इस्टेट र बेचन झाको पक्राउपछि नेताहरूको भागदौड भयो : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरणमा बेचन झा पक्राउ परेपछि दलहरूबीच भागदौड मच्चिएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले गिरिबन्धु टी–इस्टेट र बेचन झा पक्राउ पछि दलहरूको चैन उडेर भागदौडपछि एकै ठाउँमा पुगेको बताएका हुन्।
उनले कांग्रेस र एमालेबीच भएको सम्झौता सार्वजनिक नहुनु अपारदर्शी काम भएको र त्यस्ता अपारदर्शी र अनैतिक काम गर्नेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउन नमिल्ने समेत बताए।
उनले भने, ‘गिरिबन्धुको कालो धब्बाले धपक्कै छोप्पिएर र बेचैन झाले बेचैन बनाएर भागदौड चलेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ?’
ठूला दल मिल्दैमा स्थिरता हुने अवस्था नरहेको उनले बताए । उनले भने, ‘ठूलो दलका नेता प्रधानमन्त्री हुनुपर्ने हो। तर ओलीजी प्रधानमन्त्री बन्ने भनिएको छ। फेरि बाँकी कार्यकाल एउटैले चलाउने पनि भनिएको छैन। आधा आधा चलाउने भनिएको छ। यही हो स्थिरता ?’
दुई दलबीच भएको सम्झौता बाहिर नल्याएर सिधासिधा लोकलाई ढाँट्ने काम गरिराखेको सापकोटाले बताए ।
संविधान संसोधनका लागि प्रतिनिधि सभामा टुक्राटाक्री जोडेर दुई तिहाई पुगे पनि राष्ट्रिय सभामा त्यो सम्भव नरहेको उनले बताए।
लामो संसदीय अभ्यास गरेर आएका कांग्रेस र एमालेलाई यी कुराहरू थाहा नहुने कुरा होइन । उनले भने, ‘गिरिबन्धु टी–इस्टेट र बेचन झाका बेचैनी रिपोर्टहरू आएपछि अत्तालिएर भागदौड सुरू गर्नुभएको छ। यी घटनाहरूलाई विषयान्तर गर्नका लागि संविधान संसोधनका कुरा गरिएको हो ।’
सापकोटाले समानुपातिक निर्वाचन प्रणालीप्रति दुई दललाई यति धेरै वितृष्णा र अरूची देखिनुपछाडि कारणबारे पनि प्रश्न गरे।
‘हामीले वर्षौंदेखि अन्याय, विभेद र पछाडि पारिएका वर्ग जाति समुदाय लिंग सबैलाई समावेश गर्ने भनेर यो संविधानमा व्यवस्था गरिएको हो। त्यसमा जे हमला गर्न खोजिराख्नुभएको छ,’ उनले भने, ‘गएको निर्वाचनमा संविधान संसोधन गर्ने भनेर भोट मागेको हो ?’
सापकोटाले संविधानमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर काहीँ नलेखिएको पनि बताए। विश्वास पाए सरकारमा रहनुहुन्छ। विश्वास गुमाउनुभयो भने ७६ (३) बमोजिम नयाँ सरकार बन्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: