धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द
काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । अध्यक्ष सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिले शुक्रबार एक सूचना जारी गर्दै छनोट प्रक्रिया रद्द गरिएको बताएको छ ।
समितिले यसअघि अध्यक्षका लागि पाँच जनाको नाम सर्ट लिस्ट गरेको थियो । तर, तीमध्ये तीन जना अन्तर्वार्ता र प्रस्तुीकरण दिन नै नआएपछि प्रक्रिया अघि बढेको थिएन । सिफारिस समितिले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर अन्तर्वार्तामा दुई जना मात्र सहभागी भएपछि सरकारले महान्यायाधीवक्तासँग कानुनी राय मागेको थियो ।
महान्यायाधीवक्ताको कानुनी रायपछि सिफारिस समितिले प्रक्रिया रद्द गरेको हो । धितोपत्र बोर्डको अध्यक्षका लागि सत्तारुढ दलमा खिचातानी भएको चर्चा चलेको थियो । सरकारको नेतृत्व र अर्थ मन्त्रालयसमेत सम्हालेको माओवादी केन्द्र र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेबीच खिचातानी हुँदा यो प्रक्रिया नै रद्द हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्: