सेनाका रथी सिग्देलको उमेर विवादबारे संसदमा प्रभु साहले मागे जवाफ
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा स्वतन्त्र सांसद प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादबारे रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथी सिग्देलको उमेर विवाद के हो भन्दै यस सम्बन्धमा रक्षामन्त्री उप्रेती र प्रधानसेनापति शर्माले जवाफ दिनुपर्ने माग गरेका छन् ।
नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्याएको उनको भनाइ छ ।
रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने उनले बताए ।
सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निष्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ ।’
‘विवादित कुराहरू बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौं । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौं’ उनी भन्छन्, ‘यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन ।’
यो विषयमा लामो समयदेखि मिडियामा समाचार आइरहेका छन् । तर सम्बन्धित निकायले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्: