Bagmati Samachar Logo

संसदीय समिति बैठकमा गैरसरकारी संस्थाको सहयोग नलिन सभामुख र राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएका छन् ।

२ असारको बैठकमा संघीय निजामती सेवा विधेयकबारे विज्ञसँग छलफल गर्ने एजेन्डा थियो । तर, बैठकमा गैरसरकारी संस्थाको खाजा पहिल्यै पुगेपछि बैठक नै स्थगित भयो ।

खाजाको विषयमा छलफल चलेपछि बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ‘यस्तो अवस्थामा बैठकमा बस्नै नसक्ने’ भन्दै बाहिरिएपछि बैठक चल्न सकेन । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीलगायतका विज्ञहरूसँग छलफल थियो । बहालवाला मन्त्रीले बैठक सुरु नै नभई छाडेको सम्भवत ः पहिलो घटना थियो ।

नेसनल फोरम अफ पार्लियामेन्टेरियन अन पपुलेसन एन्ड डेभलपमेन्ट (एनएफपीपीडी) अभियानले खाजाको व्यवस्था गरेको थियो ।

मंगलबार सभामुख र अध्यक्षले संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिबिना कतिपय गैरसरकारी संस्थाहरूले संघीय संसद अन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने र कानुन निर्माण एवम् निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको गुनासाहरू आएकोले त्यसो नगर्न निर्देशन दिइएको हो ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सभामुख र राष्ट्रियसभाका अध्यक्षबाट निर्देशन भएअनुसार ध्यानाकर्षण गराइएको पत्रमार्फत अवगत गराएका छन् ।