Swornakshar Logo

राष्ट्रपति पौडेल र उनका जर्मन समकक्षीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर राष्ट्रपति पौडेल जर्मनी पुगेका छन् । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।

सो भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसिएलिस्ट इन्टरनेसनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने बताए ।

‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ,’ राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुँध्न जर्मनीले लस एण्ड ड्यामेज फण्डमा गरेको सहयोग प्रतिवद्धतालाई स्वागत पनि गरेका थिए ।

राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिकअधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताएका थिए ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उनले यसका लागि स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताएको पोखरेलले जानकारी दिए ।

हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमका लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने उनले विश्वास व्यक्त गरेका थिए ।
उनले नेपाली एयरलाइन्सलाई युरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गरेको पनि पोखरेलले जानकारी दिए ।

जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मनी त्यसबारे गम्भीर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गरेका थिए । साथै उनले नेपाल जर्मनीको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसंघका मञ्चमा पनि नेपालसँग जर्मनीको धेरै कुरा मिल्ने उल्लेख गरे ।

जर्मन राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारा बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताएका थिए । साथै उनले नेपाली हवाई एयरलाइन्सलाई युरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए ।

सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो ।