Swornakshar Logo

एमाले बचाउन संसद विघटन गरेको ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन गरेर एमाले बचाएको दाबी गरेका छन् । जबकि सर्वोच्च अदालतले उनले दुवैपटक गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको थियो । ओलीको संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले दुबै पटक संसद स्थापित गरिदिएको थियो ।

एमालेको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताएका छन् । उनले भने,‘पार्टीभित्रैबाट आफू नेतृत्वको सरकार ढाल्ने काम भयो । पार्टीभित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरे ।’

ओलीको भनाइ जस्ताको तस्तै

कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस छ गते संसद चाँहि भंग नगरेको भए हुन्थ्यो । संसद भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौं । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौं । झन्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौं । पार्टीभित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टीभित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ ।

बैठक बैठक जस्तो हुँदैन । चलाई सक्नुछैन । विकास, निर्माणको काम भएको छ । अरु काम भएको छ । पुनःनिर्माणको काम भएको छ । सबै कामहरू भएको छ । तर देख्दैन । भईँचालोले भत्काएका साढे ८ लाख घर बनाएको छ । पुनर्निर्माणका अनेक कामहरू भएका छन् । देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन । देख्दैन । हजारौं पुल बनेका छन, देख्दैन । तुईन बिस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरू बनेका छन्, देख्दैन । राति पनि उडने गरी सुविधा बिस्तार भएको छ । त्यो पनि देख्दैन । फोरजी सेवा देशभर बिस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ । त्यो देख्दैन ।

ज्येष्ठ नागरिकहरूको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोलि पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरि कुरा ठूलो गर्‍या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज एमाले भन्न पाउदैन थियौं हामीले । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईहरुले देख्नु भएन ? नवौ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजुबुत हैसियतमा पुर्‍याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?’