Swornakshar Logo

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा ११ वर्षमा बहस सकियो, फैसला सुनाउन अर्को मिति तोकियो

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने मिति तोकेको छ । सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले फैसला सुनाउने मिति तोकेको हो ।

आगामी १३ साउनमा यो मुद्दामा फैसला सुनाइने भएको छ । १ जेठदेखि लगातार सुनुवाइपछि आइतबार फैसला सुनाउने मिति तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस २०६० मा जोशीविरुद्ध गैरकानुनी रूपमा ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई १० साउन २०६९ मा दोषी ठहर गर्दै २ करोड १६ लाख १४ हजार ३७६ बिगो र सो बराबर जरिवाना हुने फैसला गरेको थियो ।

विशेषले जोशीलाई डेढ वर्ष कैद सजाय गर्ने पनि फैसला गरेको थियो । तर, जोशीले विशेषको सो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सोही पुनरावेदनको फैसला ११ वर्षसम्म पनि आएको छैन ।

यो भ्रष्टाचार मुद्दापछि कुनै बेला कांग्रेसको नेतृत्व तहमा रहेका जोशी राजनीतिबाट किनारा लाग्दै गए । र अहिले उनलाई कांग्रेसले पार्टीबाट निकालिसकेको छ ।