Swornakshar Logo

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकको चौतारा अस्पतालको भवन उद्घाटन गर्दै उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए।

‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौं,’ पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।’

उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले संघीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए।

‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए।