Swornakshar Logo

चुनावपछि टर्च बालेर खोज्दा एमाले भेटिँदैन भन्नेहरू नै टर्च बालेर मात्र भेटिन्छन् : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई टर्च बालेर मात्र भेटिने गरेको बताएका छन् । एमालेको राष्ट्रिय महिला भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एउटा चुनावी भाषणप्रति व्यंग्य गर्दैै उनले भने, ‘चुनावपछि टर्च बालेर खोज्दा एमाले भेटिँदैन भन्नेहरू अहिले टर्च बालेर मात्र भेटिन्छन् ।’

अध्यक्ष ओलीले एमालेविरुद्ध धेरै शक्ति लाग्दासमेत महिला नेता–कार्यकर्ताले पार्टी जोगाएको पनि बताए । उनले भने, ‘नेकपा एमालेको तर्फबाट देवीहरू मैदानमा उत्रिए सबै सखाप । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरूको असाधारण भूमिका छ ।’

एमालेलाई ध्वस्त बनाउन खोजिएको बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्र मोर्चामा उत्रने गरेको उल्लेख गर्दै ओलीले पार्टी पङ्क्तिको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई सलाम भनेका छन् । उनले भने, ‘यो यात्राले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तर साथ दिनुहोला । त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ ।’