Swornakshar Logo

गण्डकीको मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश (पूर्णपाठसहित)

काठमाडौंं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सर्वोच्च अदालतले ४८ घण्टाको समय दिएको छ । एमाले दल नेता खगराज अधिकारीको विश्वासको मतसम्बन्धी प्रक्रियालाई असंवैधानिक ठहर गर्दै अदालतले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टको नाममा आदेश दिएको हो ।

कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डेले गत २५ वैशाखमा दर्ता गरेको रिटमा सोमबार अन्तिम फैसला गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजालसले विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गरेको हो । आगामी बुधबार साँझसम्म पाण्डे ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्ने छन् ।

एमाले दल नेता अधिकारीले गत २३ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । त्यसबेला उनले पक्षमा जम्मा ३० मत पाएका थिए । सभामुख कृष्ण धितालले आफ्नो पनि समर्थन रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन कम्तीमा ३१ सांसद हुनुपर्नेमा ३० सांसदको विश्वासको मत पाउँदा बहुमत घोषणा गरिएकोमा कांग्रेस असहमत थियो । पाण्डेले अधिकारीले विश्वासको मत नपाएकाले उनको सरकार स्वतः ढलेकाले ठूलो दलको संसदीय दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिन पनि माग गरेका थिए ।

रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।