Swornakshar Logo

विवाह भएको एक हप्तामा नै पति विरुद्ध पत्नीले दिइन् वैवाहिक बलात्कारको उजुरी

काठमाडौँ । विवाह गरेको एक हप्तामा नै पति विरुद्ध पत्नीले वैवाहिक बलात्कारको उजुरी दिएकी छिन् । पत्नीले बलत्कार गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि काठमाडौँको नयाँ बानेश्वर बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो । जापानमा करिब ७ वर्ष बसेर फर्केकी ३२ वर्षीया युवतीसँग पक्राउ परेका पुरुषले यहि ७ वैशाखमा विवाह गरेका थिए ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर सहभाागिता मार्गस्थित डेरामा बस्ने उनीविरुद्ध पत्नीले प्रहरी वृत नयाँ बानेश्वरमा जाहेरी दिइन् । वैवाहिक बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरी वृत नयाँ बानेश्वरले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । मुद्दा अदालतसम्म पुगेको थियो । आरोपीलाई जिल्ला अदालत काठमाडौँले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आरोपी र पीडित सामाजिक संजालमार्फत सम्पर्कमा थिए । नेपाल फर्केपछि पीडित र आरोपीबिच बत्तिसपुलतीस्थित द ग्रिलनेशन रेष्टुरेण्टमा विवाह भयो । विवाह भएको दिन शारीरिक सम्पर्क नभएको र भोलिपल्ट एक पटक सहमतिमा शारीरिक सम्पर्क भएको आरोपीले बयान दिएका छन् । तर, विवाह गरेको एक सातामा अर्थात १३ वैशाखमा उनीहरूबिच मनमुटाब सुरु भएको प्रहरीले जनाएको छ ।

आफ्नो बुवासँग पत्नीले ‘कार्यालयमा लेडिज स्टाफहरुसँग सम्बन्ध रहेछ’ भनेपछि मनमुटा सुरु भएको आरोपीले प्रहरीलाई बयान दिएका छन् । बयानमा भनेका छन्,‘१४ गते बिहान पीडितलाई उनको दिदीले घर कुर्न बोलाएपछि मैले नै छाडेर आएँ, त्यसपछि मेरो विरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता गरिछन् ।’

सहभागिता मार्गस्थित डेरामा इच्छा विपरीत नव दुलाहाले आफूलाई ‘जबरजस्ती करणी’ गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा भनिएको छ,‘वैशाख ८ गते रातिदेखि मलाई इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन्, करणी गर्न नमान्दा चिमोट्ने, कुटपिट गर्ने र अन्तिम पटक १३ वैशाखमा करणी गर्न खोजेपछि मैले ‘म सक्दिनँ’ भन्दा कुटपिट गरे ।’

प्रतिवादी पुरुषको ३ वर्षअघि डिभोर्स भएको थियो । उनीहरू दुवैले दोस्रो विवाह गरेको हुन् । परिवारमार्फत चिनजान भएपछि सोसल मिडिया मार्फत कनेक्ट भएर कुराकानी गरेको र विवाह गरेको पुरुषले प्रहरीसँगको बयानमा बताएका छन् ।