Swornakshar Logo

प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ, हामी तमासा हेरेर बसेका छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए ।

उनले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको पनि आरोप लगाए । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू, अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हमी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ । नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिस्टहरू बिचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताए ।