Bagmati Samachar Logo

भागबण्डा मिलाउन बागमतीमा दोस्रो पटक फुटायो मन्त्रालय, विनाविभागीय मन्त्री आलेले पाइन मन्त्रालय

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर बागबण्डा पुगाएको छ । मन्त्रालय फुटाएसँगै लामोसमयसम्म विनाविभागिय मन्त्री बनेकी नेकपा एकीकृत समाजवादीकी रमा आलेले आजबाट मन्त्रालय पाएकी छिन् । प्रदेशमा कायम रहेका १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा मन्त्रालय कायम गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको हो ।

मन्त्री आलेमगरलाई प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले बताए । मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको उनको भनाई छ ।

मन्त्रालय विभाजनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन गर्ने र उपयुक्त स्थान हेरेर मन्त्रालय खडा गरिने प्रवक्ता श्रेष्ठले बताए ।

गत वैशाख २० गते मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिन पछि विभागीय जिम्मेवारी पाएकी हुन् । जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् । तत्कालका लागि भाडाको घर खोजेर मन्त्रालय खडा गरिने उनको भनाई छ ।