Swornakshar Logo

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

काठमाडौं । १३ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलन २०८१ समापन भएको छ । शुक्रबारबाट हेटौंडामा सुरु भएको युवा सम्मेलन आइतबार समापन भएको छ ।

३ दिने युवा सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेर बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई हस्तान्तरण गरेको छ ।

घोषणापत्रमा बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरूको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनु पर्ने उल्लेख गरिएको छ।

यस्तै, संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरू, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरुको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले यस बागमती प्रदेशमा नेतृत्वदायी उपस्थिती सहित महत्वपूर्ण भूमिका खेल्नपर्ने तथा यसका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चित तवर हुनुपर्ने, बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधनसम्पन्न बनाउँदै बागमती प्रदेशका युवाहरुका साझा सवालहरुको सम्वोधनका लागि परिषद्को नेतृत्वदायी भूमिकालाई थप प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिएको छ।

‘युवालाई प्राविधिक, गुणस्तरीय, व्यावहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त बनाउँदै समग्र विकासमा युवाहरुलाई नेतृत्वदायी रुपमा स्थापित गर्न उत्प्रेरित गर्दै समृद्ध बागमती प्रदेश अभियानमा युवाहरुको सहभागितात्मक नेतृत्व प्रवद्र्धन गरिनु पर्दछ,’ घोषणापत्रमा उल्लेख छ।

२०८१ साललाई सीप वर्ष घोषणा गर्ने बताइएको छ। बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरिरहेको युवाहरूको सीप विकास तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बागमती प्रदेशका सबै युवाहरुमाझ पुर्याउन पर्ने भन्दै युवाहरुमा रोजगारी, स्वरोजगारी र उद्यमशिलता प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइएको छ।

यस्तै, बागमती प्रदेशका सबै स्थानीय तहहरूको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागिता मार्फत युवामैत्री स्थानीय तहहरुको प्रवर्द्धन गर्नुपर्ने, बागमती प्रदेशका कला, संस्कृति, पुरातत्व र ऐतिहासिक तथा प्राकृतिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनमा युवाहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा युवाहरूको साझा सवालहरुको सम्वोधनका लागि युवाहरुमा लगानी प्रवर्द्धन गरिनुपर्ने घोषणा पत्रमा उल्लेख छ।

युवाहरुमा सचेतना, शिक्षा, सृजनशीलता र सहभागिताको प्रवद्र्धन गर्नुपर्ने तथा युवालाई देशमै सम्भावनाहरुको खोजी र युवाहरुका लागि अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक रहेको बताइएको छ। विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले युवा सम्मेलनको आयोजना गरेको हो।
सम्मेलनमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका २ सय भन्दा बढी युवाको सहभागिता रहेको थियो। सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिएको थियो ।