Swornakshar Logo

बझाङमा एमालेका दमन भण्डारी विजयी

काठमाडौं । बझाङको प्रदेश सभा ‘क’ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएर विजयी भए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन्।

हेर्नुस् कसको मत कति ?

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जना उम्मेदवार थिए । २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।

उनले नेकपा एमालेका अफिलाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। सिंहको असार ५ गते धनगढीबाट घर जानेक्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा गाडि दुर्घटना हुदा निधन भएको थियो ।

प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी को हुन् ?

भण्डारी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँका स्थायी बासिन्दा हुन्। ५७ वर्षीय भण्डारीका बुवा र हजुरबुवा पनि राजनीतिमा थिए।

भण्डारीका बुबाको ११ गते वैशाखमा निधन भएको हो । उनी अहिले बुवाको शोकमै छन्। चुनावको प्रचारप्रसारमै रहेका बेला उनले बुवाको अन्तिम संस्कार गर्न परेको थियो।

उनका बुवा पन्चायत कालमा वडा सदस्य भएका थिए। उनको पल्लोघरका बाजेपनि गाउँमा प्रधानपञ्च भएका थिए। जेठाबुवाका छोरा पनि गाविस अध्यक्ष थिए। उनीहरूको प्रेरणाले आफुले पनि राजनीतिबाटो रोजेको भण्डारी बताउँछन्।

गाउँबाट एसएलसी दिएर कानुन विषय पढ्न काठमाण्डौं गएका उनी क्याम्पस पढ्ने बेलामा अनेरास्ववियुमा आबद्ध भए। भण्डारी २०५४ मा गाविस अध्यक्ष भएका थिए।

‘काठमाण्डौंमा डिग्री पढ्दै गर्दा स्थानीय चुनावमा प्रचारप्रसार गर्न गाउँ गएको समयमा एमालेले उनलाई गाविस अध्यक्षको टिकट दिएको थियो । उनले गाविकासको अध्यक्षमा पनि जिते । गाविस अध्यक्ष हुँदा उनी गाविस राष्ट्रिय महासंघको बझाङ जिल्ला अध्यक्ष पनि भए। त्यसपछि उनी युवा संघको जिल्ला अध्यक्ष भएका थिए।

२०६९ मा एमालेको जिल्ला कमिटीको उनी सचिव भएका भण्डारी २०७८ मा अध्यक्ष भए। अहिले पनि भण्डारी नेकपा एमाले बझाङका अध्यक्ष हुन्।

२०५४ सालको स्थानीय तहको निर्वाचन पछि उनलेले निर्वाचन लड्ने अवसर पाएका थिएनन् ।

प्रदेश सभामा आफ्नो क्षेत्रका सामाजिक र पुर्वाधार क्षेत्रको विकास गर्न अहम भुमिका खेल्ने भण्डारीको दाबी छ।