Swornakshar Logo

एकता गर्न हतारो नगरेर अवस्था परिपक्क बनाउदै एकता गर्नु पर्छ : प्रधनमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरू मिल्दा सफलता हासिल भएको र विभाजन हुँदा असफलता पनि भोगेको तितो अनुभव रहेको बताए ।

नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्सवमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले अहिले भने एकताका लागि हतारो गर्ने पक्षमा नरहेको सुनाए । उनले भने, ‘एकता हुँदा दुईतिहाइनजिक पुगेका थियौँ । तर विभाजित भयौँ । त्यसको तितो अनुभव छ । तर, अहिले पहिलाको जस्तो हतारोमा एकता गर्ने पक्षमा छैनौँ । त्यो बेला समयभन्दा अगाडि दौडिएछौँ कि १ पुनः सहकार्य सुरु गरेका छौँ । बिस्तारै कम्युनिस्टबीच एकता हुने वातावरण बन्छ ।’

प्रचण्डले नेकपा स्थापनाको दिन समझदारी र एकताको बाटो कोर्ने दिनको रूपमा स्थापित हुनुपर्ने बताए । उनले भने, ‘कम्युनिस्टहरू अबको २५ वर्षपछि सय वर्षका हुनेछौँ । अहिले पनि हामी कम्युनिस्ट एकताबद्ध हुने हो भने देशलाई नेतृत्व गर्ने ठाउँमा छौँ ।’

प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति पनि विश्वास बढेको बताए । उनले भने, ‘म मन्त्रिपरिषद्‌को बैठकले गर्दा ढिला आइपुगेँ । अन्तिमतिर मात्र भिडियो हेर्न पाएँ । तर, ओलीजीले योपटकको भिडियोमा माओवादीबारे नकारात्मक टिप्पणी गरेको छैन भन्नुभयो । धन्यवाद छ । विश्वास छ उहाँप्रति ।’

प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा कम्युनिस्टको भूमिका केही निर्णायक र केही सहायक रहेको बताए । उनले भने, ‘यो परिवर्तनमाथि प्रहार गर्ने प्रयास भइरहेको छ । जनतालाई हित भएको महसुस गराउने चुनौती हामीलाई छ । बलिदानको कीर्तिमान कायम गरेका छौँ । आज अवसर र चुनौती छ । अवसर यही पद्धतिमा देशलाई समृद्ध बनाउने, सुशासनको प्रत्याभूत दिने । यसका विरुद्ध षड्न्त्र भइरहेको छ । त्यसका विरुद्ध पनि लड्नु चुनौती छ ।’