Swornakshar Logo

पार्टी विभाजनबारे ओलीको टिप्पणी : अहिले नै मिल्यौ भने किन फुटेका थियौ भन्छन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्टहरू तत्काल एकता नहुने बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुने बताएका हुन् ।

सोमबार नेकपा स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, ओलीले भने, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन् ।’

कम्युनिस्टमा विभाजन विखण्डन भएको र एकता पनि भएको बताए । उनले भने, ‘२०५४ सालमा विभाजन भयो । २०७७ सालमा विभाजन भयो । विभाजन हुनु हुँदैनथ्यो । समीक्षा गरौँला । तत्काल पार्टी एकीकरण भइहाल्छ भन्ने छैन । यसले आन्दोलनमा समस्या आउँछ । सहकार्य गर्दै आगाडि बढ्छौँ । क्रमशः एकताको बाटोमा जान सक्छौँ । अहिले नै मिलौँ भन्ने हो भने के कारण फुटेका थियौ भन्ने प्रश्न उठ्छ । ठ्याक्क वामपन्थी मिलेर अगाडि जान सक्ने अवस्था छैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अहिलेनै पार्टी एकीकरण गरिहालौँ र भइहाल्छ भन्ने कुरा व्यक्तिगत तुष्ट र आकांक्षामात्र हुने बताए ।

उनले अहिले वामपन्थीहरू ठ्याक्कै मिलेर मात्रै अगाडि बढ्ने अवस्था पनि नभएको बताए ।

‘देशभक्त शक्तिहरू, राष्ट्रिय शक्तिका रूपमा काम गर्न जसले मञ्जुर गर्छ त्यस्ता शक्तिहरू, देशको पक्षमा सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा हुनेहरू’, उनले भने, ‘अनेक प्रकारका साम्प्रदायिक भड्काउने र अविश्वास बढाउने गर्‍यो भने देश बिथोलिन्छ ।’