मदनको हत्यारा खोज्न कसले रोकेको छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।
नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किएका छन् ।
‘गाली गरेपछि जवाफ त दिनुपर्यो’, देउवाले सम्बोधन सुरु गर्दै भने, ‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’, उनले भने, ‘पछि ड्राइभर पनि मारियो ।’ उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’
एमालेले हत्यारा पत्ता लगाउनको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र गर्ने गरेको बताए । उनले भने,‘राष्ट्रपति हुनु भयो । दुई जना प्रधानमन्त्री हुनु भयो । हत्यारा पत्ता लगाउन कसले रोकेको थियो ? कांग्रेसलाई गालि गरेर हुन्छ ।’
तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ । ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो । मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्यो’, देउवाले एमालेलाई चुनौती दिए ।
प्रतिक्रिया दिनुहोस्: