Swornakshar Logo

कम्युनिस्ट फुट र विभाजन विचार र सिद्धान्तले कि पदीय आकांक्षाले समिक्षा हुनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने बताएकी छन् ।

नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ ।’

‘अन्य देशका कम्युनिस्टहरू कति सफल भए कति असफल भए शिक्षा लिनु पर्ने ।

पूर्वराष्ट्रपति भण्डारीले समाजवाद ल्याउन दलहरू अग्रसर हुनुपर्ने बताइन् । ‘अबको काम जनताको जीवनमा परिवर्तन ल्याउनु हो । त्यसतर्फ उन्मुख हुनुपर्छ, उनले भनिन् ।

दलहरूले घोषणापत्र अनुसार काम गर्नु स्वाभाविक भए पनि केही विषयमा भने राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ छ ।

साथै उनले अरू लोकतान्त्रिक वामपन्थी र गैरवामपन्थी पार्टीले लिएका नीति र विचारमा समेत विचलन आएको छ छैन भनेर बेलाबेलामा समीक्षा गर्नु पर्ने भण्डारीले बताइन् ।