Swornakshar Logo

कृष्णको गीत ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

काठमाडौं । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । यस गीतमा विकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन् । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बीसीको रहेको छ । विकले आफूले सङ्ख्यामा भन्दा पनि गीतको गुणस्तरमा ध्यान दिने गरेको बताए ।

उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए । निरमाया गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन् ।

‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कविराज गहतराज हुन् । सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।