Swornakshar Logo

ओलीको प्रतिवेदनमा निष्कर्षः सहकारीको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ (पूर्णपाठ)

काठमाडौं । सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने कांग्रेसको मागमा समर्थन नजाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी क्षेत्रमा गम्भीर समस्या देखिएको बताएका छन् । शनिबार सुरु भएको प्रतिनिधि परिषद् भेलामा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा सहकारी समस्याको विषयले पनि प्रवेश पाएको छ ।

उनले बचतकर्ताको रकम हिनामिना भएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । तर, लामिछानेको बचाउमा पनि एमाले उभिएको छ । प्रतिवेदनमा भनिएको छ,‘निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन ।’

सहकारी रकम हिनाहिनामा लामिछाने मुछिएको भन्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताउँदै आएको छ । तर, एमाले भने लामिछानेको बचाउमा केन्द्रित छ । यद्यिप ओली पनि अहिले सहकारी क्षेत्रमा छानबिन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

यस्तै एमालेका केही नेताहरूले राजनीतिक धु्रवीकरण हुनुपर्ने बताइरहेका बेला अध्यक्ष ओली भने त्यसको विपक्षमा उभिएका छन् । धु्रवीकरण व्यवहारिक र लाभदायक नहुने बताएका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘‘मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन ।’

उनले अहिले सहकार्य हुँदा विश्वासको वातावरण निर्माण हुने अपेक्षा भने ओलीले गरेका छन् । उनले सहकार्यबाट विश्वासको वातावरण बनी भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुनसक्ने उनको विश्लेषण छ । तर, अहिले भने सबै सकरात्मक शक्तिलाई एक साथ लिएर हिँड्नुपर्ने उनको भनाइ छ । ओलीले नयाँ गठबन्धन बनेपछि राजनीति अनुकूल बनेको समेत विश्लेषण गरेका छन् । उनले नयाँ गठबन्धन बनेसँगै एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भएको तर्क गरेका छन् ।