Swornakshar Logo

सांसद र मन्त्रीको निधन भएको वर्ष

काठमाडाैं । राजनीतिमा यो वर्ष बढी उथलपुथल भयो । सरकार परिवर्तनमात्र होइन । सांसदहरु पनि संघदेखि प्रदेशसम्म पाँच जनाको निधन भयो । एमाले, जसपा र कांग्रेसका सांसदहरुको निधन भयो ।

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको २६ भदौमा निधन भयो । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत थिए ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।
जनता समाजवादी पार्टीको समानुपातिकतर्फ संघीय सांसदको निधन भएको छ ।

सप्तरीका ५८ वर्षीय मञ्जु अन्सारीको यहि ४ गते चैतमा ह्रदयघातका कारण निधन भएको छ । उनलाई निर्वाचन आयोगले २०७९ चैत ६ गते निर्वाचित गरेको थियो ।

झापाबाट समानुपातिक महिला सांसद ६३ वर्षीय सहनाज रहमानको २०७९ फागुन १३ गते ह्रदयघातका कारण निधन पछि मञ्जु निर्वाचित भएकी थिइन् ।

जसपा कै मधेश प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको पनि भदौ २६ गते निधन भएको थियो । ४४ वर्षीया यादवको प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।
उनको निधन पाठेघरको मुखमा क्यान्सरबाट भएको थियो । यादव समानुपातिक सांसद थिइन् ।

असार ५ गते सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गाडि दुर्घटनामा परि निधन भयो ।

धनगढीबाट गृह जिल्ला बझाङ जानेक्रममा बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा त्यहि दिन निधन भएको थियो ।

सोहि दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारी भने बाचे ।