Bagmati Samachar Logo

महेश बस्नेतविरूद्ध बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेत विरुद्ध भन्दै एक महिलाले प्रहरी परिषर काठमाडौंमा जाहेरी दिएकी छिन् । महिलाले जबरजस्ती गर्भपत पनि गराएको जाहेरीमा उल्लेख गरेको प्रहरीले बताएका छन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले एमाले नेता बस्नेत विरुद्ध जाहेरी आएको र अनुसन्धान भइरहेको बताए।

उनले भने, ‘जाहेरी हुलाकबाट आएको थियो। जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको छ। हामीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरेर उहाँले लगाएका आरोपबारे अनुसन्धान गरिरहेका छौं ।’

उनले पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत नगएको बताए।

केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन्।

उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी छ।

मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पीडितको दाबी छ।

‘यसरी निज कसुरदारले म जाहेरवालालाई भारतको तुलसी हेल्थकेयर अस्पतालमा १ पटक र महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट १ पटक गरी २ पटक जबरजस्ती करणी गरेको हुँदा निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिमको कसुरमा हदै सम्मको कारबाही गरी न्याय इन्साफ दिलाई पाउँ,’ जाहेरीमा भनिएको छ, ‘त्यस्तै निज कसुरदारले म जाहेरवालालाई झुक्काएर थाहारजानकारी नदिई औषधि खुवाएर म जाहेरवालाको पेटमा रहेको दुई महिना १५ दिनको गर्भलाई गर्भपतन गराएको हुँदा निज कसुरदारको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को विपरितको कसुर भएको हुनाले निज कसुरदारहरूलाई उक्त कसुरमा समेत हदैसम्मको सजाय गरी पाउँ।’

फागुन ८ गते बिहान महेशले दुईजना व्यक्ति पठाएर आफ्नो मोबाइल, ल्यापटप सुनका गहना हिराको औँठी लगायत सामानहरू लुटेर लगेको आरोप पनि पीडित महिलाले लगाएकी छन्।

बस्नेतले २०८० फागुन ८ गते प्रमाण नष्ट गराउने उद्देश्यले जाहेरीवाला बस्ने अपार्टमेन्टमा २ जना मान्छे पठाइ मोबाइल थान ३, ल्यापटपको हार्डडिस्क, साढे तीन तोलाको सुनको ब्रासलेट, डेढ तोलाको बेरुवा औँठी, एउटा सुन र अर्को हिरा समेत दुईवटा रिङ समेत चोरी गरेको हुँदा निज महेश बस्नेत र नाम नखुलेको अर्का २ जनालाई समेत अनुसन्धान गरी निजहरूलाई समेत मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (१) (घ) बमोजिमको कसुरमा समेत हदै सम्मको कारबाही हुनु पर्ने जाहेरीमा उल्लेख गरेको छ ।