Swornakshar Logo

४ खर्ब लगानीमा फ्याक्ट्री खोल्न भारतमा जग्गा खोज्दै टेस्ला

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा आफ्नो नयाँ कारखाना खोल्ने भएको छ । विद्यतीय कार उत्पादनका लागि पावर प्लान्ट स्थापना गर्न आवश्यक पर्ने जग्गा खोज्न कम्पनीले अप्रिल महिनामा आफ्नो टिम भारत पठाउने तयारी गरेको फाइनान्सियल टाइम्सले जनाएको छ ।

भारतमा स्थापना हुने उक्त कारखाना तीन अर्ब डलर (४ खर्ब रुपैयाँ बढी) लागतमा तयार हुने समाचारमा बताइएको छ । पावर प्लान्ट स्थापनाका लागि महाराष्ट्र, गुजरात र तामिलनाडुमा जग्गा खोजी हुने पनि फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। यी क्षेत्रहरू अटोमोटिभ हबका रूपमा परिचित छन् ।

केही कार निर्माता कम्पनीले हरियाणा राज्यमा पावर प्लान्ट स्थापना गरेका छन् । हरियाणा भारतको राजधानी नयाँ दिल्लीको छिमेकी राज्य भएकाले टेस्ला पनि सम्भवतः त्यही क्षेत्रमा केन्द्रित हुने चर्चा छ ।

१९ अप्रिलदेखि १ जुनसम्म भारतमा लोकसभा निर्वाचन हुँदैछ । टेस्लाको यो कदमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दललाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । मोदीले स्थानीय उत्पादन र रोजगारीलाई बढावा दिने विश्वका चर्चित कम्पनीलाई भित्र्याउने योजना ल्याइरहेका छन् ।

यसअघि पनि अमेरिका भ्रमणमा रहेका बेला मोदीले टेस्ला मालिक एलन मस्कलाई भेटेका थिए । मस्कले सञ्चारमाध्यमसँग कुरा गर्दै भारतमा कम्पनीको पावर प्लान्ट खोल्ने सङ्केत दिएका थिए ।

ईभीमा चीनको बलियो दबदबा छ । त्यसैले भारतमा विदेशी कम्पनीहरुलाई प्रवर्द्धन गर्न मोदीले अर्बौं डलरको सरकारी अनुदान छुट्याएका छन् । ​

टेस्लाले भारतीय अधिकारीहरूलाई प्रस्तावित नयाँ फ्याक्ट्रीमा हालको मोडलभन्दा सानो कार बनाउने विचार गरिरहेको बताएको छ । यसको मूल्य ३० हजार डलरभन्दा कम हुनेछ । त्यसपछि कम्पनीले भारतमा यो मोडेल बिक्री गर्ने र त्यसलाई दक्षिणपूर्वी एसिया, खाडी मुलुक, अफ्रिका र दक्षिणी तथा पूर्वी युरोपमा निर्यात गर्नेछ ।

भारतबाहेक टेस्लाले आफ्नो पावर प्लान्ट मेक्सिकोमा निर्माण गर्न थालिसकेको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार यो प्लान्ट २०२६ देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।