इलाम र बझाङको उपचुनावमा उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय
काठमाडौं। नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क मा हुने उपचुनावमा उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
यही १५ वैशाखमा इलाम २ र बझाङको प्रदेशसभा क मा उपचुनाव हुँदै छ । यी दुवै क्षेत्रमा माओवादीले उम्मेदवार उठाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेले बताए ।
गठबन्धनमा रहेका दलहरू मिलेर जाने पक्षमा माओवादी केन्द्र रहे पनि एमाले र रास्वपाले निर्णय गरिसकेकाले आफूहरूले पनि उम्मेदवारी दिने निर्णय भएको पौडेले बताए ।
‘एमालेले पनि निर्णय गरिसक्यो, रास्वपाले पनि उम्मेदवार उठाउने भएको छ । त्यसैले हामीले पनि उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’पौडेलले भने ।
पौडेलले प्रदेश र जिल्ला समितिसँग छलफल गरेर उम्मेदवार टुंगो लगाइने जानकारी दिए । ‘गठबन्धनभित्र पनि सबैले उम्मेदवारी दिएपछि माओवादीले पनि उम्मेदवारी दिने भएको छ । एक दुई दिनमा कस कसलाई दिने भनेर निर्णय गर्छौं, उनले भने ।

प्रतिक्रिया दिनुहोस्: