Swornakshar Logo

रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी
काठमाडौं। रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । उक्त हमलाबाट १०० जनाभन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार रुसी विदेश मन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन्।

बीबीसीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए । आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।
इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ ।

एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘आफ्नै आँखाले आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको मैले देखेँ। उनीहरूले जताततै पेट्रोल बम प्रहार गरेपछि आगलागी भएको थियो । हामी निकासको ढोकामा पुग्यौं तर त्यो बन्द थियो त्यसैले हामी बेसमेन्टमा गयौँ।’