राष्ट्रियसभा अध्यक्ष बन्ने उद्देश्यकासाथ निर्वाचन जितेका सिटौला कांग्रेस संसदीय दलको नेतामा चयन
काठमाडौं । राष्ट्रियसभामा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संसदीय दलको नेता बनेका छन् । राष्ट्रियसभामा उनलाई कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता मनोनीत गरेका हुन् । सिटौला राष्ट्रिय सभा अध्यक्ष हुने उद्देश्यका साथ माघ ११ मा राष्ट्रियसभा सदस्य चुनाव लडेका थिए । तर दुभाग्यबस २१गते फागुनमानयाँ राजनीतिक घटनाक्रम विकसित भएर गठबन्धन नै भत्केको छ । गठबन्धन भत्केपछि सिटौलाको अध्यक्ष हुने च्याप्टर क्लोज भएको छ ।
प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसको राष्ट्रियसभामा बहुमत नरहेकाले उम्मेदवारले जित्ने सम्भावना छैन । त्यसैले सिटौला अध्यक्ष उम्मेदवार नबनी संसदीय दलको नेता बनेका हुन् ।
कांग्रेसले २९ फागुनमा हुने राष्ट्रियसभा अध्यक्षको चुनावका लागि अन्तिम समयमा उम्मेदवार तय गर्नेछ । शनिबार कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको अर्जुननरसिंह केसीले बताए । बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो । उनका अनुसार व्यक्ति तोकिएको छैन । ‘व्यक्तिको बारेमा आइतबारसम्ममा अन्य दलसँग छलफल गरेपछि टुंगो लाग्छ,’ केसीले भने ।
पछिल्लो प्रतिनिधिसभा चुनाव हारेका सिटौलालाई अध्यक्ष बनाउन ‘अपवाद’ मान्दै कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको टिकट दिएको थियो । २० फागुनमा कांग्रेससहितको ८ दलीय गठबन्धन भत्किएर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रियसभाको अंकगणित फेरिएको छ ।
नयाँ गठबन्धनमा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ । हाल उपाध्यक्ष माओवादीकी उर्मिला अर्याल छिन् । उनलाई राजीनामा गराएर एमालेका लागि माओवादीले उपाध्यक्षको ठाउँ खाली गर्नेछ ।
राष्ट्रियसभामा नयाँ सत्ता गठबन्धनको सहज बहुमत छ । ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत गर्न बाँकी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने सदस्य पनि गठबन्धनकै हुनेछ । राष्ट्रियसभाको ठूलो दल माओवादीसँग एक जना मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्य छन् । गठबन्धनको अर्को दल एमालेका १० सांसद छन् । एकीकृत समाजवादीसँग ८, जसपाका ३ सांसद छन् । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्तारुढसँग छ । सत्ता समीकरण अनुसार अहिलेको सत्ता साझेदार तेस्रो दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन ।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् ।
११ माघमा भएको राष्ट्रियसभा सदस्यको चुनावमा कोशीबाट उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्की पराजित भइन् । कांग्रेसको एक समूहले मत नदिँदा मतभार धेरै हुँदाहुँदै पनि कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार कार्की पराजित भएपछि गठबन्धनमा अविश्वासको कारण मध्येको एक कारण राष्ट्रियसभा सदस्यको चुनाव बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्: