एमालेमा यी हुन मन्त्रीको दौडमा
काठमाडौं । १० पुस २०७९ को सत्ता गठबन्धन भत्किएपछि प्रमुख प्रतिपक्षी बनेको एमाले १४ महिनापछि सरकारमा फर्किएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि एमालेसँग फेरि सरकारमा फर्किएको हो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार साँझ माओवादी, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक(एक जनालाई बिनाविभागीय मन्त्री बनाएका छन् । एमालेबाट पदम गिरी मन्त्री बनेका छन् । मन्त्रालयको बाँडफाँट नटुंगिएकाले एमालेबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने निर्णय भइसकेको छैन ।
तर, मन्त्री बन्न भने एमालेभित्र नेताहरूले आ(आफ्नो लबिङलाई तीव्र बनाएका छन् । एमालेले अर्थ मन्त्रालय पाए उपाध्यक्ष विष्णु पौडेललाई पठाउने तयारी छ । तर, अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई दिन चाहेका छन् । अर्थ माओवादी केन्द्रले लिँदा गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी एमालेको छ । गृह मन्त्रालयमा रास्वपाले पनि दाबी गरिरहेको छ । अर्थको सट्टा गृह पाउँदा पनि विष्णु पौडेलले नै नेतृत्व गरेर एमालेबाट सरकारमा जाने नेताहरू बताउँछन् ।
एमालेभित्र युवा नेताहरू मन्त्री बन्ने दौडमा लागेका छन् । सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी र तारा लामा तामाङ मन्त्रीको दौडमा छन् । भण्डारी १० पुस २०७९ मा प्रचण्डको नेतृत्वमा सरकार बन्दा मन्त्री बनेका थिए । तर, गठबन्धन दुई महिनामै टुटेपछि एमाले सरकारबाट बाहिरिएको थियो । त्यतिबेला नै मन्त्री बनेकी मधेश प्रदेशकी ज्वालाकुमारी साह पनि मन्त्रीको दौडमा छन् । त्यस्तै, युवा नेता ठाकुर गैरे, सूर्य थापा, सूर्य ढकाल र दीपा शर्माले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन् ।
एमाले सचिवद्वय योगश भट्टराई र गोकर्ण विष्ट तथा इलाम १ मा झलनाथ खनाललाई हराएर चर्चामा आएका महेश बस्नेत पनि मन्त्री बन्न लविङमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गत वर्ष छोटो समय मन्त्री भएकालाई नै दोहोर्याउने तयारीमा छन् । स्रोतका अनुसार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएकी विमला राई पौड्यालबाहेक अरु सबै पुरानै व्यक्तिलाई सरकारमा पठाउने तयारीमा अध्यक्ष ओली छन् ।

प्रतिक्रिया दिनुहोस्: