Swornakshar Logo

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरु भाइरल होइन लोकप्रिय हुनु पर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला सातौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरोगीत प्रतियोगिता धादिङ बेनीघाटमा उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए ।

नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सबै जना सचेत हुनुपर्ने प्रधानमन्त्रीले बताए ।

विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्युज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने । सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे ।