Swornakshar Logo

माओवादीसँग गठबन्धन तोडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुनिल शर्माको माग

काठमाडाैं  ।  नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले माओवादीसँग कांग्रेसले गठबन्धन तोड्नु पर्ने माग राखेका छन् । शनिबार काठमाडौंम पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएका हुन् ।

कांग्रेसको फागुन ७ गतेदेखि महासमिति बैठक सुरु हुदै छ । उक्त बैठकमा आफूले छुट्टै प्रस्ताव पेस गर्ने उनले पत्रकार सम्मेलनमा जानकारी गरे ।

पत्रकारसम्मेलनमा आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताएका छन् ।

वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि स्पष्ट पारे ।

भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाइ थियो ।

सांसद शर्माले लोकप्रियतावादीहरू र अतिवादीहरू नेपाली कांग्रेसका मुख्य चुनौती रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने बताए ।

शर्मालाई नक्कली प्रमाणपत्रको आरोपमा प्रहरीले पक्राउ गरेपछि गठबन्धन विरुद्ध बोल्दै आएका छन् ।