Bagmati Samachar Logo

एमाले सांसद लक्ष्मी कोइरीलाई ज्यान मुद्दाबाट सफाइ

काठमाडौँ। एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले एमालेका निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो ।

यस्तै लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय फैसला भएको छ ।

अन्य प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र,  सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको अदालतले जनाएको छ ।

आरोपितमध्ये १९ जना फरार छन् । उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध २०७२ फागुन २७ मा अदालत जिल्ला महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो ।

मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । उनलाई उपचारार्थ जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरिएको थियो ।

अदालतले जन्मकैदको सजाय सुनाएका शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि पक्राउ पुर्जी जारी हुँदा लुकेर २०७५ साउन अन्तिम साता सोझै अदालत आएका उनी साधारण तारेखमा छुटेका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री भएका थिए ।