Swornakshar Logo

संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छः मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले यस्ताे कुरा बताएका हुन् ।

पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको उनले उल्लेख गरेका छन् । तीन तहका सरकारबीच अन्तद्न्द हुँदा संघीयता कमजोर हुनसक्ने भन्दै उनले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेकोमा मन्त्रि लामाले जोड दिए । तीनवटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरि निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । देशमा आर्थिक तरलता रहेको भन्दै मन्त्रि लामाले यसको असर पनि तीनवटै तहका सरकारमाथि हाल परिरहेको जिकिर गरेका छन् ।

यस्तै, कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कर्मचारिहरु नागरिकलाई सेवा, प्रविधी र प्रवाहमा केन्द्रीत भएर लाग्न निर्देशन दिएका छन् ।

स्थानीय तह बेरुजु उत्पादन गर्ने अड्डा जस्तो भएको भनाईहरु उठ्न थालेको भन्दै उनले सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नुपर्ने उनले उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको न्यायिक समितिको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै प्रजिअ सेढाईले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, बागमती प्रदेश सांसद एकलाल श्रेष्ठले स्थानीय स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने, स्थानीय तहले जनताको चित्त बुझ्नेगरि काम गर्नुपर्नेमा जोड दिए । प्रदेश र संघ तहमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रिको निर्वाचन क्षेत्र केन्द्रीत भएर जाने गरेको गुनासो गरेका छन् ।

यसैगरि, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको भनाई कार्यक्रममा राखेका छन् । समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले उल्लेख गरेका छन् ।

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरिएको छ । सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।

यसैगरि, कर्मचारितर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार पदमा कार्यरत कर्मचारी अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमि आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । समाजसेवातर्फ “फरक सोच अभियन्ता” थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मान सिं दोङ सम्मानित भएका छन् ।

यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानि भएका छन् भने शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालय सम्मानित भएका छन् । यसैगरि साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।