Swornakshar Logo

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन पुसमा काठमाडौंमा हुने

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशको पहिलो सम्मेलनमा पुस ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

बैठकले सम्मेलन तयारीका लागि विभिन्न समिति पनि गठन गरेको छ । बैठकले प्रदेश सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्वमा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै, राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा उपसमिति बनाइएको छ ।

यस्तै, बैठकले आर्थिक व्यवस्थापन उपसमितिको संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमितिको संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहसंयोजक सहमहामन्त्री ऋषिराम घिमिरे रहेका छन् । आगामी वर्षको कार्यक्रम (क्यालेन्डर) तयारी उपसमितिको संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहसंयोजक सहमहामन्त्री जीवन डंगोल रहेका छन् ।

बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकी अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमितसिंह कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयम्‌सेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको छ ।

काठमाडौंमा हुने पहिलो सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारी र सातै प्रदेशका प्रदेश सभापतिको उपस्थिति रहनेछ ।
संयोजकहरूले आवश्यकता अनुसार प्रदेश कार्यालयमा जानकारी दिएर सदस्य थप्न सक्ने प्रवक्ता रुवालीले बताए ।