Swornakshar Logo

भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीबाट १ करोड २५ लाख सहयोग

काठमाडौं । भूकम्प पीडितहरूको राहत उद्धार र पुनः स्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितहरूलाई सहयोग १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले शुक्रबार राती ११.४७ मा कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु ६.४ म्याग्निच्युड भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनः स्थापनाको लागि बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको ३ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको २ दिनको तलब र अन्य सबै कर्मचारीको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए ।

उनका अनुसार उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ । प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिव, अधिकृत र अन्य कर्मचारीहरूको उक्त दिनको तलब रकम अनुमानित १ करोड २५ लाख रुपैयाँ हुन आउने उनले बताए ।