चीन, अमेरिका, रुस र भारतले भूकम्पमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । गए राती गएको जाजरकोटको भूकम्मप पिडितको लागि विभिन्न देशले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जसमा चीन, अमेरिका रुस र भारत छन् ।
चीनले भूकम्प पीडितका लागि १०० मिलियन नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले सो सहयोगबारे जानकारी दिएको हो । राहत तथा उद्धारका लागि टेन्टलगायतका सामाग्री सहयोग गर्ने चीनले जनाएको छ । दूतावासले दुई दिनभित्रै राहत सामाग्री आइपुग्ने जानकारी दिएको छ । केही सामान बाटोमा पुगिसकेको बताएको छ ।
यो सहयोग चाइना साउथ एसियन कन्ट्री इमर्जेन्सी सप्लाइ रिजर्भबाट गर्न लागिएको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पत्रमार्फत राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
काठमाडौंस्थित संयुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।
भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति भारतले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा आफ्नो देश नेपालको साथमा रहेको र आवश्यक सबै सहायता उपलब्ध गराउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: