जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको संख्या १२८ पुग्यो, १४० घाइते
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । एक सय ४० भन्दा धेरै घाइते भएका छन् ।
ती जिल्लास्थित प्रहरीका अनुसार, जाजरकोटमा ९३ र रुकुम पश्चिममा ३६ जनाको भूकम्पमा घर भत्किएर मृत्यु भएको हो । सबैभन्दा धेरै क्षति नलगाड नगरपालिकामा भएको छ । त्यहाँ एउटै वडामा २० जनासम्मको मृत्यु भएको छ भने उपमेयर सरिता सिंहको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ।
घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ७ जनाको स्थिति गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।
भूकम्पपछि जाजरकोटमा ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।
मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा र सानीभेरी गाउँपालिकामा बढी प्रभावित बनेका छन् ।
घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्: