शान्ति प्रक्रियाको यात्रामा तपाईंहरू एक्लो हुनुहुन्न : राष्ट्रसंघ महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाको यात्रामा नेपाल एक्लो नभएको बताए । संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएकाले हाम्रो सहकार्य गहन छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तर यो सजिलो भने नभएको बताएका हुन् ।
‘तपाईंहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’उनले भने, ‘प्रश्न र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो सजिलो भने छैन ।’
महासचिव गुटेरेसले स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया भएको बताए । ‘हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्,’ उनले भने, ‘जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन, जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् ।’
उनले यो प्रक्रियामा नेपाल एक्लो नभएको पनि बताए । ‘तपाईंहरू एक्लो हुनुहुन्न । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईंहरूलाई सहयोग गर्न तयार छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र हुन् । हाम्रो सहकार्य गहन छ ।

प्रतिक्रिया दिनुहोस्: