Bagmati Samachar Logo

हेटौँडामा माछामासु पसल अनुगमन

हेटौंडा । मकवानपुर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडाले बिहीबार हेटौँडामा माछामासु पसल अनुगमन गरेको छ । हेटौँडा आसपासका एकदर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।

चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीब्रता दिइएको छ । बिहीबार मात्र हेटौँडाको १६ वटा माछामासु पसलमा अनुगमन गरेको र सोक्रममा प्रतिवन्धित माहुर माछा, अण्डा र मासु जफल गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरका कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुरले जानकारी दिए ।

हेटौँडा–१० बसपार्कमा रहेको राजु फिस सप्लार्यबाट १६ दशमलव ९ केजी मागुर र खान उपयुक्त नभएको माछा, हेटौँडा–१ मा रहेको रेसु सप्लार्यसबाट अण्डा र प्रतिक मिटसपबाट खानको लागि उपयुक्त नभएको मासु बरामद गरेको ठाकुरले बताए ।

अनुगमनका क्रममा मासु पसलले अपनाउनुपर्ने न्यूनतम मापदण्डहरु कमले मात्रै पूरा गरेको, सरसफाइमा ध्यान नदिएको र आवश्यक मापदण्डपूर्ण रुपमा पालना नभएको पाईएको उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको आर्थिक बर्ष २०८० ८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हेटौँडा उपमहानगरपालिकाभित्र रहेका माछामासु पसलको अनुगमन गरिएको थियो । केहि माछामासु पसलमा मूल्य सुचि नराखिएको भेटीएको थियो । केहि पसलहरु दर्ता बिना नै संचालनमा रहेका भेटीएको ठाकुरले बताए ।

अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका अनुसन्धान अधिकृत विक्रम लिम्बु, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र मासु व्यवसायी संघका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
आजबाट अनुगमनको काम सुरु भएको र यो सधै रहने ठाकुरले जानकारी दिए ।