Swornakshar Logo

एमाले बागमती अधिवेशन : तीन जना अध्यक्षले उम्मेदवारी फिर्ता लिए , दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा बिहीबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केशव पाण्डेले दिउसै उम्मेदवारी फिर्ता लिएर ढुंगेललाई समर्थन गर्ने जनाएका थिए । साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् ।

आजै चुनाव हुने भनिए पनि निर्वाचन मण्डलले चुनाव अब भोलि मात्र हुने कार्यतालिका सार्वजनिक गरेको छ । ढुंगेल महासचिव शंकर पोखरेल निकट र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि ढुंगेललाई समर्थन गरेको चर्चा छ ।