काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृहमन्त्रलायमा बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न सकेन।
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए । उनले आन्तरिक छलफलपछि आजै पुनः बैठक बसेर टुंग्याउने बताए । बर्तौलाले भने, “सरकार आयोग गठनप्रति जिम्मेवार छैन । जिम्मेवार बोधका साथ अघि बढ्न तयार छैन । भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन ।”
यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्तरिक छलफलपछि सहमति जुट्ने बताए ।
गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो । उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध सुन तस्करीको नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।
असोज ५ गते बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको बताएको छ । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आजैबाट काम गर्ने भन्ने सहमति भएपनि सरकारले उदासीनता देखाएको बताए ।
उनले भने, ‘हामी सुन तस्करको जरासम्म पुग्न चाहन्छौँ। तस्करीमा भएका दोषीलाई कारबाहीको तहमा ल्याउन चाहन्छौँ ।त्यो कोणबाट कार्यदिशा हुनुपर्छ भन्ने माग हो । यी सबै कुराको सरल ढंगबाट अनुसन्धान हुनसक्ने, छानबिन हुनसक्ने गरी कार्यदिशा हुनुपर्छ भन्नेकुरा थियो, त्यो कुरामा सरकारको पक्षबाट जे अपेक्षा गरेको थियौँ त्यो नभएको आभाषा भयो ।’












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…