Swornakshar Logo

माओवादीमा फेरि सुरु भयो पार्टीको नाम फेर्ने बहस

काठमाडौं । नेकपा माओवादी केन्द्रमा फेरि पार्टीको नाम परिवर्तनबारे छलफल सुरु भएको छ ।

गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले अरु पार्टीसँग एकता हुने भएमा नाम परिवर्तनका लागि छलफल गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको र त्यसका लागि पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको बताएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ।

माओवादी केन्द्र र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ सर्कुलरमा उल्लेख छ।

माओवादीको गत साउन १६ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजक तोकेको थियो।

महराले केन्द्रीय कमिटी बैठकअघि देखि नै माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पार्टीमा छलफल चलेको थियो । अहिले उक्त कुरा थाति रहेको छ ।

माओवादीले पूर्वमाओवादी र अरू साना कम्युनिष्ट पार्टीहरूसँग एकताको प्रक्रिया अघि बढाउने निर्णय पनि केन्द्रीय कमिटीको बैठकमा गरेको थियो।

२०५२ मा माओवादी भएर भूमिगत राजनीति थालेको उक्त पार्टीले ०६५ सालमा नारायणकाजी श्रेष्ठको पार्टी एकीकृत मसालसँग एकता गरेपछि पार्टीको नाम नेकपा एकीकृत माओवादी राखेको थियो।

पछि रामबहादुर थापा लगायत ११ घटकसँग एकता गरेपछि नेकपा माओवादी केन्द्र बनेको थियो।

नेकपा माओवादीसहितका चार पार्टीहरूले अहिले समाजवादी मोर्चा बनाएर देशव्यापी कार्यक्रम गरिरहेको छ। विचार मिल्नेसँग एकता गर्नु पर्ने भन्दै कम्युनिष्टहरु एकताका कुरा गदै आएका छन् ।