Swornakshar Logo

राष्ट्रपतिबाट संविधान दिवसका दिन विभूषण वितरण कार्य स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल सरकारले संविधान दिवसका दिन वितरण गदै आएको विभुषण तत्काललाई स्थगित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभिन्न विधाका व्यक्तिहरुलाई विभूषण वितरण हुँदै आएको थियो । तर, विभूषणको छनोटप्रति व्यापकट आलोचना हुँदै आएको सन्दर्भमा मन्त्रिपरिषद्ले तत्काल वितरण नगर्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषद्ले विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय पनि भएको छ भने सिँचाइ नीति, २०८० स्वीकृत भएको छ ।

त्यस्तै नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।